Click to get cool Animations for your MySpace profile

Tuesday, September 14, 2010

बिपी संग्रहालयको कथा

परशुराम पोखरेल-
सुन्दरीजलस्थित बिपी चोकबाट २०४७ जेठ २२ गते मैले बिपी संग्रहालयबारे सार्वजनिक घोषणा गरेँ। यसवापत सेनाले मेरो रामधुलाइ गर्‍यो, राति १२ बजेसम्म नियन्त्रणमा राखेर।


  प्रधानमन्त्रीले मध्यावधि निर्वाचन सिफारिस गरे, २०५४ सालमा। गिरिजाबाबु विराटनगर हुनुहुन्थ्यो। राजाले खिल्ली उडाउँदै १ सय ३ पुर्‍याएर आउने नोटिस टाँसे।

यस्तो बेला २०५४ पुस २६ गते हामीले बिपी संग्रहालयको अवधारणा प्रस्तुत गर्‍यौं, सुन्दरीजलमा एक कार्यक्रममार्फत। ड्युटीमा रहेका सेनाका जवानलाई खुसी पारेर जेलको मुलगेटलगायत अन्य स्थानका केही फोटो खिचेको थिएँ। कार्यक्रममा जेलका तिनै फोटो बाँडिए। विराटनगरमा रहेका गिरिजाबाबुसँग यस कार्यक्रमबारे आशीर्वाद मागेको थिएँ। पछि बिपीचोकनजिकै भएको कार्यक्रममा गिरिजाबाबुले भन्नुभयो, 'बिपी संग्रहालयको योजना पूरा भइछाड्नेछ।'
सेनाले २०५४ माघ १३ गते राजदरबारलाई पत्र लेख्दै सुन्दरीजल बन्दीगृह भत्काउन माग राख्यो। हामीचाहिँ त्यही स्थानमा संग्रहालय बनाउनुपर्छ भन्ने। सेनाको र हाम्रो एककिसिमको जुहारी नै चल्यो। अन्ततः २०६१ भदौ २३ गते सेनाले सुन्दरीजल बन्दीगृह छोडेर हिँड्नुपर्‍यो।
२०१७ फागुन २६ पछि जननायक बिपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राई र प्रेमराज आङ्दम्बेलाई राजा महेन्दले सुन्दरीजल जेलमा बन्दी बनाएका थिए।
२०३३ पुस १६ गते राष्ट्रिय मेलमिलाप नीतिसहित नेपाल फर्केका बिपी र गणेशमानलाई राजा वीरेन्द्रले त्यही जेलमा बन्दी बनाए। त्यसको ४२ वर्षपछि २०६१ भाद्र २४ गते ९१ औं बिपीजयन्तीमा त्यही जीर्ण जेलको कालो गेट खोलेर संग्रहालय उद्घाटन गर्दै गिरिजाबाबुले भन्नुभो, 'आज मैले मेलमिलापको ढोका खोलेँ।'
सयौं मानिस उपस्थित थिए। रेडियो एचबिसीले प्रत्यक्ष प्रसारण गरेको थियो। बौद्ध, हिन्दु तथा मुस्लिम धर्मगुरु पनि उपस्थित थिए। संग्रहालयको भत्किन लागेको पर्खाल, पिपलका लहरा, चार बुर्जाका छाना, जीर्ण भवनले खुसीसँगै चुनौती पनि दिइरहेको थियो।
माधव नेपाललगायत सबै दलका प्रमुख, अझ भन्नुपर्दा कम्युनिस्टहरूले, सार्वजनिक रूपमा बिपी, गणेशमानको मुक्तकण्ठले प्रशंसामात्र गरेनन्, लिखित रूपमा राष्ट्रिय विभूति घोषणा पनि गरे।
कांग्रेसले अधिकांश समय संस्कृति मन्त्रालय हेरे पनि बिपी संग्रहालयमा ध्यान दिन सकेको छैन। विस्फोटक पदार्थ भण्डार गर्ने ठाउँलाई संग्रहालयको रूप दिनु सहज थिएन। विपक्षी दलका नेताले सराहना गरे पनि स्थानीय कम्युनिस्टलाई असह्य भयो। चीन, भारत र अमेरिकाका राजदूत, राष्ट्रपति, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री माधव नेपाल सबैले संग्रहालय अवलोकन गरे, तर कसैले यसका लागि खासै संवेदनशीलता देखाएका छैनन्। प्रधानमन्त्री भएको बेला दाहालले संग्रहालय निरीक्षण गरेको भोलिपल्टै संस्कृतिमन्त्री गोपाल किरातीले संग्रहालयका लागि छुट्याएको ८ लाख रकम घटाएर २ लाखमा झारे।
नेपाल प्रधानमन्त्री भएका बेला भेट्ने प्रयास गर्‍यौं। सल्लाहकारै उनीभन्दा माथि भएको पाइयो। माओवादी सरकारले विनियोजित रकम घटाएनमात्र, संग्रहालय राज्यमातहत ल्याउने धारणा सार्वजनिक गर्‍यो।
कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले यसको डटेर सामना गरे। मैले भनेँ, 'बन्दुक र तिघ्राका भरमा जथाभावी गर्न सक्दैनौं र पाइँदैन पनि।'
कांग्रेसले बाह्रौं महाधिवेशन सुन्दरीजलमा गर्नुपर्थ्यो भन्ने स्वतन्त्र बुद्धिजीवी पनि कम छैनन्। गत वर्ष महासमिति बैठकमा आएका सदस्यहरूले महाधिवेशन सुन्दरीजलमा गर्नुपर्छ भन्ने माग राखेका हुन्। तर, यो प्रस्ताव एकथरी कांग्रेस नेतृत्वलाई नपचेकोमात्रै होइन, बिझायो पनि।
बिपी संग्रहालय राजनीति, साहित्य र दर्शनको त्रिवेणी हो, लोकतान्त्रिक उद्यान हो। सुन्दरीजल जेलको इतिहास समाप्त हुँदै गएका बेला हामीले संग्रहालयको योजना ल्याएका थियौं। खण्डहर बनाउने योजना बुनिएकै थियो। जेल भत्काउनुपर्छ भन्दै पत्रपत्रिकामा अनगिन्ती लेख आएकै हुन्।
संग्रहालय नबनेको भए भविष्यमा कांग्रेसले सन्ततिलाई के जवाफ दिन्थ्यो? बिपीले भन्नुभएझैं जब पार्टी सरकारमा पुग्छ, निर्वाचन आउँछ, सच्चा र इमानदार कार्यकर्ताले ठाउँ पाउँदैनन्। आज त्यही परिस्थिति आएको छ। यदि हामीले विवेकी निर्णय गर्न हिच्किचायौं भने लोकतन्त्र त समाप्त हुन्छ नै, देशको सार्वभौमसत्ता पनि खतरामा पर्छ।
आस्था, निष्ठा, समाजवाद र मेलमिलाप नै प्रजातन्त्रको ज्वलन्त कसी हो, कांग्रेसको मुलमन्त्र पनि। २००३ देखि आजसम्म कांग्रेस लोकतान्त्रिक मियो साबित भयो। कांग्रेसको बाह्रौं महाधिवेशनका यक्ष प्रश्न पनि यिनै हुनेछन्। लोकतान्त्रिक गणतन्त्र स्थापित गर्नु त परै जाओस्, सधैं विवादमा तान्ने काम भएको छ। बिपी, गणेशमानले घाम तापेर बस्ने, पुस्तक लेख्ने बुढो कपुरको बोटको चौतारी रहेको सुन्दरीजल बन्दीगृहलाई नभुलौं।
(पोखरेल सुन्दरीजलस्थित बिपी संग्रहालयका अध्यक्ष हुन्।)

No comments:

Post a Comment

व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई

नेपाली काँग्रेस का महान व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई ( खगेन्द्र नेपाली द्वारा प्रकाशित पुस्तक ) मैले धरै पुस्तक पसल मा खोज्दा पाउन अति मुस्किल भएको कारण ले पक्कै नै स्रोता बृन्द माझ पुगेको नहुन सक्छ भन्ने मलाई सोच लाग्यो र मैले यो अडियो पुस्तक लाई तपाई हरु माझ पुर्याउने कोशिस गरेको हु . जगन्नाथ डाँडा कटेरी ( नेपाली काँग्रेस ) स्पेन नेपाल : भरतपुर ६ चितवन