Tuesday, September 14, 2010

जाँच्ने डाक्टर भेटिएन

खड्गजित बराल- बिपीलाई एक्कासि झनन्न टाउको दुख्न थाल्यो। पुलिसकै डाक्टर बोलाएर जचायौं। रुघाको औषधि दियो। त्यसले झन् बढी च्याप्यो। दरबारले 'विशेषज्ञ सर्जन बोलाएर चेक गर्नू' भन्ने आदेश दियो। हामी सर्जन डाक्न घरघर पुग्यौं। तर, कोही आउन मानेनन्।
सबैलाई डर थियो, बिपीको उपचार गरे जागिर जान्छ कि भन्ने! हामीले जोरजबरजस्ती ल्याउनुपर्‍यो


२०३३ सालमा बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किने भएपछि काठमाडौंमा खैलाबैला मच्चियो। बिपीलाई राख्ने ठाउँबारे सुरक्षा परिषद्को मिटिङ बस्यो। २०१७ मा सुन्दरीजलमा राखेको सेनाले यसपालि हात उठाइदियो। निजामतीले पनि 'भद्रगोल जेलमा राख्न उपयुक्त हुँदैन' भन्यो।
मैले प्रस्ताव गरेँ, 'प्रहरी तालिम केन्द्र, महाराजगन्ज।'
सबैको सहमति भयो।
बिपी र गणेशमान काठमाडौं उत्रिनेबित्तिकै हामीले स-सम्मान उहाँहरूलाई पक्राउ गरी तालिम केन्द्र ल्यायौं।
यी दुवै नेता मेरा लागि नौला थिएनन्। २००७ सालदेखि नै चिनजान थियो। त्यसैले, दुवैतर्फ असहज भएन। गणेशमानले आफ्नो संस्मरणमा पनि उल्लेख गरेका छन्- 'बरालजी २००७ सालमा हाम्रो क्रान्तिको सहयोगी भएकाले सजिलो भयो।'
बिपी र गणेशमानबीच निकै सुमधुर सम्बन्ध थियो। खुब नोकझोक हुन्थ्यो। तर, छुट्टिएर बस्न नसक्ने। बिपी सधैं गणेशमानसँग ठट्टा गर्थे। गणेशमानलाई कब्जियत थियो। त्यसैले उनी पहिले ट्वाइलेट छिरे भने बिपी बाहिरबाट कराउँथे, 'गणेशमानजी, छिटो गर्नुपर्‍यो।'
कहिलेकाहीँ त ट्वाइलेट जान हानाथापै हुन्थ्यो। एकदिन सन्चो-बिसन्चो बु‰न गएका बेला बिपीले ठट्टा गरे, 'गणेशमानजी, तपार्इंले कहिल्यै हात्तीको मासु खानुभएको छ?'
'के ठट्टा गरेको बिपीबाबु, हात्तीको मासु पनि कसैले खान्छ!'
बिपीले फेरि सोधे, 'भैंसीको मासु त खानुहुन्छ होला नि!'
'त्यो त खान्छु।'
'भंैसी खान हुने, हात्ती खान नहुने।'
...

बिपी फर्केको केही दिनपछि नै दरबारमा भेटघाटको कार्यक्रम बनेछ। खबर आयो- 'ल, बिपीलाई लिएर आउनू।'
राति १० बजे बिपी एक्लैलाई दरबार लगेँ। राजा वीरेन्द्र र बिपीबीच करिब १ घन्टा गफ भयो। म बाहिरै बसेँ। फर्किने बेला बिपीले मलाई भने, 'तपाईंले प्रहरीमा धेरै उन्नति गर्नुभएछ।'
मेरो उत्तर थियो, 'उन्नति होइन बिपीबाबु, जीविकाका लागि गरेको।'
दरबारबाट फर्कंदा बाटोमा यताउति हेर्दै बिपीले भनेका थिए, 'काठमाडौंमा धेरै घर बनेछन्, ठूला-ठूला।'
तालिम केन्द्र पुग्दा गणेशमान खाना कुरेर बसिरहेका थिए। बिपीले फेरि ठट्टा गरे, 'तपाईं राजालाई सधैं गाली गर्नुहुन्थ्यो। राजा त गोरा, राम्रा रहेछन्। फेरि मैलेजस्तै पाइप खाने।' त्यसपछि गणेशमानजी पड्किए, 'मान्छे राम्रो भएर मात्र भएन। व्यवहार पनि राम्रो हुनुपर्‍यो।'
वीरेन्द्रसँगको भेटपछि बिपी निकै आशावादी थिए। वीरेन्द्रले अझै गफ गर्न चाहेको उनले सुनाए। भन्थे, 'मैले राजालाई राष्ट्रिय-अन्तर्राष्ट्रिय पोलटिक्सको पुरा डाइनामिक्स बताएको छु। राजा राम्रा रहेछन्। कुरा मजाले सुन्दा रहेछन्।'
तालिम केन्द्रमै एकदिन बिपीले भने, 'हेर्नुस् न, टाउको एक्कासि झनन्न हुन्छ। के भएको हो, कुन्नि?' त्यतिबेला बिपीको सम्पूर्ण गतिविधि र स्वास्थ्यको जानकारी दरबारमा गर्नुपर्थ्यो। मैले जाहेरी गरेँ। 'उपचार गराउनू' भन्ने आदेश आयो।
सुरुमा पुलिसकै डाक्टर बोलाएर जचाइयो। चिकित्सकले 'चिसो लागेको छ' भन्दै रुघाको औषधि दियो। तर, त्यसले केही असर गरेन।
बिपीले फेरि भने, 'झन् बढी च्याप्यो मलाई।'
फेरि दरबारमा जाहेरी भयो।
दरबारले 'तुरुन्त विशेषज्ञ सर्जन बोलाएर चेक गर्नू' भन्ने आदेश दियो।
सर्जन डाक्न उनीहरूकहाँ त पुग्यौं। तर, कोही आउन मानेनन्। त्यतिबेला सबैलाई डर थियो, बिपीको उपचारमा संलग्न भए जागिर जान्छ कि भन्ने! कतिले त घर जाँदा 'छैन भन्देऊ' पनि भने।
हामीले नै जोरजबरजस्ती ल्याउनुपर्‍यो।
तर, जे होस् उनको जाँच भयो। घाँटीको क्यान्सर भएको शंका गरियो। उपचारका लागि कि भारत, नभए अमेरिका लानुपर्ने चिकित्सकले राय दियो। त्यसमा पनि अमेरिका उपयुक्त हुन्छ भन्ने सुझाव आयो। फेरि रिपोर्ट दरबारमा जाहेरी भयो। अमेरिका पठाउने बन्दोबस्त गरियो। रातारात पासपोर्ट बनाइयो।
बिपी २०३४ सालमा बन्दी अवस्थामै उपचारका लागि अमेरिका लागे। उपचार सफल भयो। तर, फर्किने बेला भारतको नयाँ दिल्लीमा एकरात बसिदिए। यहाँ पर्‍यो मलाई फसाद। मेरा विरोधीले दरबारमा पुरै कुरा लगाएछन्।
'खड्गजितले मिलेमतो गरेर पठायो। यो त कट्टर कांग्रेसी।'
त्यतिबेला म प्रहरीको आइजी थिएँ। मेरो सात पुस्ताको नालीबेली खोजबिन भयो। तर, बिपी फर्किएपछि सबै सेलाएर गयो।
२०१७ सालमा राजा महेन्द्रले 'कू' गरेपछि पनि यस्तै बकबास भएको थियो। महेन्द्रको शुभचिन्तक भन्न रुचाउनेहरूले कुरा लगाएछन्, 'सरकार, हजुरले देशसुहाउँदो व्यवस्था लागू गर्न लागिबक्सेको छ। तर, खबरदार हुनू है पुलिसहरूसँग। यिनीहरूले गडबड गर्लान्। सबै कांग्रेसी हुन्।'
२००७ सालमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि सशस्त्र युद्धमा होमिएको रक्षा दल (प्रायः पूर्वगोर्खा आर्मीका जवान) लाई पछि पुलिसमा भर्ती गरिएको थियो। यही कुरा सुनेर २०१८ सालमा जम्मा ८ हजार प्रहरीमध्ये ३ हजारलाई नेपाल आर्मीअन्तर्गत होम गार्डमा लगिएको थियो।
...

बिपीको निधन हुँदा म बर्मामा राजदूत थिएँ।
उनको निधनको खबरले मलाई २००७ सालको क्रान्तिको घटना याद आयो। म केआई सिंह (जसले पछि सिंहदरबार कब्जा गरे) ले सम्हालेको मध्यपश्चिम खण्ड (भैरहवा र परासीको मोर्चा) मा लडिरहेको थिएँ। बिपी हामीलाई भेट्न २/३ पल्ट आएका थिए। त्यतिबेलै हामी विद्यार्थीलाई उनी भन्थे, 'हामी जित्छौं। नेपालमा प्रजातन्त्र चाँडै आउँछ। त्यसपछि तिमीहरू आफ्नो पढाइ जारी राख्नू।'
वास्तवमा बिपीसँग मेरो पहिलो भेट भारत स्वतन्त्रता आन्दोलनताकै भएको थियो। त्यतिबेला म गोरखपुरमा पढ्दै थिएँ। सुवासचन्द्र बोसको 'आजाद हिन्द सेना' का दुई नेपाली कमान्डर दुर्गा मल्ल र दलबहादुर थापा पक्राउ परेको विरोधमा जुलुस निकाल्दा समातिएको थिएँ। ८ दिन थुनामा परेँ। त्यतिबेला भारत स्वतन्त्रता आन्दोलनको अगुवाइ गर्दै बिपी, मधुकर डिगे, राम पाण्डेजस्ता समाजवादी नेता गोरखपुर आइपुगेका थिए। कसैले भनिदिएछ- 'नेपालीहरू पनि थुनामा परेका छन्।'
बिपीले आएर भने, 'तपार्इंहरूले यसपछि आफ्नो पढाइलाई निरन्तरता दिनुपर्छ।'
१९५० मा विहार बैरगनियामा राणा शासनविरुद्ध सशस्त्र आन्दोलन घोषणा हुँदा मध्यपश्चिमको प्रतिनिधिका हैसियतले म पनि पुगेको थिएँ। त्यहाँ हाम्रो मोर्चाको कमान्ड केआई सिंहलाई सुम्पिइएको थियो।
सम्मेलनमा कांग्रेसका सबै नेता उपस्थित थिए। तर, बिपीको व्यक्तित्व बेजोड लाग्यो। चामत्कारिक। उनकै व्यक्तित्वका कारण एकपल्ट हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाउन भारतका दुई दिग्गज समाजवादी नेता राममनोहर लोहिया र शिव वनलाल सक्सेना गोरखपुर आइपुगेका थिए।
शिव वनलाललाई त मेउडीमा गस्तीमा आएको राणाको फौजले गोलीसमेत हानेको थियो। नेपालको क्रान्तिमा कुनै भारतीयले पहिलो खुन बगाएको छ भने ती शिव वनलाल नै हुन्।
उनी पछि विहारको मुख्य मन्त्रीसमेत बने।
...

हामीले राजा, राणा र कांग्रेसको दिल्ली सम्झौतालाई 'धोका'को संज्ञा दियौं। बैरगनिया घोषणाविपरीत भयो भन्दै हतियार नबिसाउने उद्घोष गर्‍यौं। किनभने, बैरगनिया घोषणा 'भारत छोडो आन्दोलन'को फोटोकपी थियो। त्यसैलाई पछ्याउँदै राणालाई नहटाइकन सशस्त्र आन्दोलन त्याग्न हुन्न भन्नेमा हामी अडिग रह्यौं।
दिल्ली सम्झौताको दुई दिनपछि मोहनशमशेरकै प्रधानमन्त्रीत्वमा कांग्रेस सरकारमा गयो। बिपी गृहमन्त्री भए। चाँडै नै उनलाई निकालियो पनि। हामीलाई निशस्त्र पार्न सन् १९५० को सन्धिअनुसार सरकारले भारतबाट सैनिक सहयोग माग्यो। भारतले 'मरहठ्ठा बटालियन' पठायो। हामीलाई चारैतिरबाट घेरा हालेर पहिले निशस्त्र पार्ने काम गरियो। पछि डेढ सयको हाराहारीमा रहेका हामीलाई भारतीय सेनाले हातखुट्टा बाँधेर ३० किलोमिटर हिँडाउँदै मेउडीबाट भैरहवा पुर्‍यायो।
त्यतिबेला हामीमाथि अत्यन्त क्रुर र अमानवीय व्यवहार गरिएको थियो। पानीधरी खान दिइएन। बाटोभरि कुटे। तीन महिना कैद बसेपछि त्यहीँबाट काठमाडौं आकाशवाणी गरियो - 'यो केको तमासा हो?'
उताबाट खबर आयो, 'दिल्ली सम्झौता भइसक्यो। विद्रोह गर्‍यौ। लडाकुलाई टि्रब्युनल कोर्टमा ट्रायल लिइनेछ। विद्यार्थीलाई छाडिनेछ।'
हामी ३५ जना विद्यार्थी थियौं। सबै थुनामुक्त भयौं।
त्यसपछि बिपीसँग मेरो भेट एकैचोटि २०१६ सालमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको नेपाल भ्रमणका बेला भयो।
म एमए गरेर पुलिसमा भर्ती भइसकेको थिएँ। बिपी प्रधानमन्त्री थिए। मलाई नेहरूको सम्पर्क अधिकारीको जिम्मेवारी सुम्पिइएको थियो।
नेहरूको सुरक्षामा खटिएको देखेपछि बिपीले भने, 'ए बरालजी त पुलिसमा आउनुभएछ।'
(नवीन अर्यालले गरेको वार्तामा आधारित)

No comments:

Post a Comment

व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई

नेपाली काँग्रेस का महान व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई ( खगेन्द्र नेपाली द्वारा प्रकाशित पुस्तक ) मैले धरै पुस्तक पसल मा खोज्दा पाउन अति मुस्किल भएको कारण ले पक्कै नै स्रोता बृन्द माझ पुगेको नहुन सक्छ भन्ने मलाई सोच लाग्यो र मैले यो अडियो पुस्तक लाई तपाई हरु माझ पुर्याउने कोशिस गरेको हु . जगन्नाथ डाँडा कटेरी ( नेपाली काँग्रेस ) स्पेन नेपाल : भरतपुर ६ चितवन