Click to get cool Animations for your MySpace profile

Sunday, September 12, 2010

बाबाले भन्नुभो- 'इट्स टु लेट'

शंकर केसी-


यता बिपी तारन्तार फोन गरिरहनुहुन्थ्यो, उता स्वामीजी भने चासै देखाउनुहुन्थेन। तीन/चारपल्टै फोन गर्नुभयो होला बिपीले। प्रत्येकचोटि म स्वामीजीकहाँ खबर पुर्‍याउँथेँ। उनी भेट्न अस्वीकार गर्थे







फोनको घन्टी बज्यो।

'के छ, शंकरजी?'

आवाज सुन्नेबित्तिकै मैले खुट्याइहालेँ।

'ओहो बिपीबाबु, मलाई त बेस छ, अनि तपाईंलाई?'

'उस्तै त हो नि!'

उहाँको आवाज गलेको थियो। मलिन। म कुरा गर्दैछु, २०३५ सालतिरको।

त्यतिबेला जावलाखेल डिस्टिलरीका मालिक विजयबाबु शाहको निमन्त्रणामा भारतका सिद्धबाबा स्वामी रामा काठमाडौं आएका थिए। उहाँले पनि थाहा पाउनुभएछ। अनि तिनै बाबासँग भेटाइदिनुपर्‍यो भनेर फोन गर्नुभएको रहेछ।

म जावलाखेल डिस्टिलरीमै काम गर्थें। विजयबाबुले स्वामीजीलाई घुमाउने जिम्मा मैलाई दिनुभएको थियो। स्वामीजी सोल्टीमा बस्थे। अरू स्वामीभन्दा भिन्न। लवाइखवाइ, सबथोकमा। सुट पाइन्टमा ठाँटिएर हिँड्ने। चुरोट पनि तान्ने।

त्यतिबेलासम्म ती स्वामी, मेरा लागि मालिकको पाहुनाभन्दा बढी केही थिएन। बिपीले फोन गर्नुभएपछि उनमा केही न केही पक्कै छ भन्ने लाग्यो।

मैले त्यसै दिन स्वामीजीकहाँ खबर पुर्‍याएँ।

'बिपीबाबु भेट्न चाहिरहनुभएको छ।'

तर, कुनै प्रतिक्रिया आएन।

बिपीले फेरि फोन गर्नुभयो।

'स्वामीजीले अनिच्छा देखाएजस्तो लाग्यो,' मैले कुरा नचपाई जे हो त्यही भनिदिएँ। तैपनि बिपीले उनलाई भेट्ने इच्छा छोड्नुभएन।

'कोसिस गर्दै गर्नू,' उहाँले भन्नुभयो।

यता बिपी तारन्तार फोन गरिरहनुहुन्थ्यो, उता स्वामीजी भने चासै देखाउनुहुन्थेन। तीन/चारपल्टै फोन गर्नुभयो होला बिपीले। प्रत्येकचोटि म स्वामीजीकहाँ खबर पुर्‍याउँथेँ। उनी भेट्न अस्वीकार गर्थे।

मेरो थुप्रै आग्रहपछि स्वामीजीले भने, 'इट्स टु लेट (अब धेरै ढिलो भइसक्यो)।'

मैले त्यतिखेर यसको अर्थ बुझिनँ।

त्यसको चार वर्षमै बिपीको निधन भएपछि पो झल्याँस्स भएँ। उनले भन्न खोजेका रहेछन्- बिपी जिन्दगीको उत्तरार्द्धमा छन्। उनलाई भेटेर कुनै काम छैन।

...





बिपीले भेट्न खोजेपछि ती स्वामी सामान्य होइनन् भन्ने त मैले अनुमान लाइसकेको थिएँ। तर, उहाँसँगै सोध्न सकिनँ।

पछि किसुनजी (कृष्णप्रसाद भट्टराई) र उहाँका दाजु गोपालप्रसादबाट स्वामीजीको महिमा थाहा पाएँ।

उनको त्यही नेपाल बसाइका क्रममा एउटा प्रवचन कार्यक्रम राखिएको थियो। म निम्तो बोकेर किसुनजीकहाँ पुगेँ। किसुनजीका दाजु गोपालप्रसाद पनि सँगै हुनुहुन्थ्यो।

निमन्त्रणा कार्ड पढेपछि गोपालप्रसादले पुलुक्क किसुनजीतिर हेर्नुभयो।

'कृष्ण, रामनारायण (मिश्र) ले सुन्दरीजलमा कुरा गर्ने स्वामी यही होइन?'

किसुनजी खै के काम गरिरहनुभएको थियो। स्वामीको नाउँ सुनेपछि उहाँको ध्यान पनि तानियो। अघि बढेर कार्ड हात लिनुभयो। एकछिन गम्नुभयो।

'ए, हो त नि!'

किसुनजीले पनि यतिविधि रुचि दिएको देखेर त मेरो कौतुहल झनै बढ्यो। आखिर को हुन् यी बाबा?

उहाँहरूबाटै थाहा पाएँ, २०१५ सालको चुनावमा बहुमतप्राप्त नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न ढिलाइ भएपछि बिपीले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मुड बु‰न रामनारायण मिश्रलाई हरिद्वार पठाउनुभएको रहेछ। रामनारायणका आफन्त ललितनारायण मिश्र नेहरूको क्याबिनेटमा मन्त्री थिए। उनीबाटै केही गोप्य कुरा बाहिर आउँछ कि भनेर बिपीले रामनारायणलाई भारत पठाउनुभएको थियो।

रामनारायण हरिद्वारको एउटा ठूलो होटलमा बसिरहेका बेला, एकजना व्यक्ति महंगो गाडीबाट उत्रियो। उसले मगमग बासना आउने अत्तर छर्किएको थियो। सुटबुटमा सजिएको थियो। हातमा चुरोट थियो, त्यो पनि पाइपमा घुसारेको।

होटलमा आएका ती व्यक्तिबाट रामनारायण प्रभावित भएछन्। उनले होटलकै कर्मचारीलाई सोधेछन्, 'को हुन् यिनी?'

'सिद्धबाबा हुन्। स्वामी रामा।'

जवाफ सुनेर रामनारायण चकित खाएछन्।

उनले बाबाको खिल्ली उडाउँदै अलि ठूलो स्वरमा भनेछन्, 'यस्तो पनि बाबा हुन्छ?'

अगाडि हिँडिरहेका स्वामी रामाले त्यो कुरा ठ्याक्कै सुनिहालेछन्। अनि, रामनारायणलाई बोलाएर सोधेछन्, 'बाबा कस्तो हुनुपर्छ त?'

रामनारायण त अक्क न बक्क परिहाले। अनि उनले रामनारायणलाई आफ्नो कोठामा लगेर भनेछन्, 'तँ ३ वटा कुरा सोध्। जे मन लाग्छ त्यही। म सब बताइदिन्छु।'

रामनारायणले पहिलो प्रश्न सोधेछन्, 'नेपालमा कसको सरकार बन्छ?'

स्वामीले उत्तर दिएछन्, 'कांग्रेसको।'

दोस्रो प्रश्न सोधेछन्, 'त्यसो भए को प्रधानमन्त्री हुन्छ?'

'बिपी कोइराला।'

अनि, तेस्रो प्रश्न सोधेछन्, 'म मन्त्री बन्छु कि बन्दिनँ।'

'बन्छस्।'

मन्त्रिपरिषद्मा आफू पनि पर्ने भविष्यवाणीबाट उत्साहित हुँदै रामनारायणले चौथो प्रश्न सोध्न खोजेकामात्र के थिए, स्वामीजीले रोकेछन्, 'तँलाई मैले ३ वटा प्रश्नमात्र सोध् भनेको थिएँ। तैंले ४ वटा सोध्न खोजिस्। यो अनिष्टको संकेत हो। तेरो निधन क्यान्सरबाट हुन्छ।'

स्वामीजीले भविष्यवाणी गरेको केही समयमै नेपालमा कांग्रेसको सरकार बन्यो। बिपी कोइराला प्रधानमन्त्री भए। र, रामनारायण मिश्र मन्त्री पनि भए।

स्वामीले चौथो प्रश्नमा अनिष्टको संकेत देखेका थिए। नभन्दै, १८ महिनामै बिपी कोइरालाको जननिर्वाचित सरकारमाथि 'कू' भयो। र, पछि रामनारायणको निधन पनि क्यान्सरबाटै भयो।

शाही 'कू' पछि बिपीसहित ७ जनालाई सुन्दरीजलमा थुनिएको थियो। त्यहीँ रहँदा रामनारायणले स्वामीजीको भविष्यवाणी सुनाएका रहेछन्।

...





बिपीसँग मेरो पहिलो भेट २००४ सालमा भयो।

उनी राणाविरुद्ध आन्दोलन छेड्न काठमाडौं आएका थिए। त्यतिखेर बिपीलाई लुकाएर राख्न हामीलाई निकै हम्मे पर्‍यो। सुरुमा सूर्यबहादुर बस्नेतको घरमा लुकायौं। कट्टर कांग्रेसी भएकाले उनले निकै सास्ती खानुपर्‍यो। अहिले उनी क्यानडामा छन्। डाक्टर। केही वर्षअघि क्यानडा सरकारले उनको समाजसेवाको मूल्यांकन गर्दै एउटा बाटै उनको नाउँमा राखेको छ।

त्यतिबेला बिपीलाई डिल्लीबजारमा लुकाउने काममा म, सूर्यप्रसाद, विज्ञानदेव पन्त, विजयकुमार र चन्द्रधर उप्रेती बढी सक्रिय थियौं। तर, कताकताबाट राणाहरूले बिपी डिल्लीबजारमा लुकेर बसेका छन् भन्ने सुइँको पाइहाले।

हामीले रातारात बिपीलाई भगाएर भेडासिंहस्थित पूर्णबहादुर एमएको घर पुर्‍यायौं। केही दिनपछि त्यहाँ पनि सुराकी सक्रिय भए। त्यसपछि उहाँलाई असन, टेउडास्थित त्रिरत्न मानन्धरको घर लग्यौं। बिपी त्यहीँबाट समातिए। किसुनजी कसरी हो, उम्किएछन्।

आफूले मानेको नेता समातिएपछि आन्दोलन सञ्चालन गर्न हामीलाई अप्ठ्यारो पर्‍यो। हामीले सत्याग्रहको बाटो समात्यौं। म, राधेश्याम (विजयकुमार), विज्ञानदेवलगायत साथीहरू मिलेर सत्याग्रह सुरु गर्‍यौं। किसुनजीले आफ्नो किताबमा पनि यो कुरा लेखेका छन्।

सत्याग्रह २७ दिन लम्बियो। प्रधानमन्त्री मोहनशमशेरलाई दबाब परेछ कि क्या हो, बिपीलाई रिहा गरे। त्यसपछि उहाँ भारततिर लाग्नुभयो।

...





म कांग्रेसमा प्रवेश गरेको २००३ सालमै हो। त्यतिबेला कांग्रेस दुई चिरामा विभाजित थियो। सुवर्णशमशेरको प्रजातान्त्रिक कांग्रेस र बिपीको राष्ट्रिय कांग्रेस। यही विभाजनले राणाविरोधी आन्दोलन सोचेजति प्रभावशाली हुन सकेको थिएन।

२००५ सालतिर मेरो सम्बन्ध गाँसिन पुग्यो, राजा त्रिभुवनसँग।

घोडेजात्राको रात भद्रकालीमा रथ जुधाउने चलन थियो। अहिले आर्मीको हेडक्वार्टर भएको ठाउँमा ठूलो बाँसको ‰याङ थियो। जात्रा हेर्न त्रिभुवनका दुई छोरा वसुन्धरा र हिमालय १३ र १४ नम्बरको गाडी चढेर त्यहाँ आएका रहेछन्। म र विज्ञानदेव पनि जात्रा हेर्न गएका थियौं। हामीले त्यही बाँसको झाडीमा लुकेर दुवै अधिराजकुमारलाई आफ्नो परिचय दियौं।

सुरुमा त उनीहरूले विश्वासै गरेनन्। केहीबेर कुराकानीपछि भने, 'त्यसो भए बुबा महाराजाधिराज (त्रिभुवन) लाई भेट्नुपर्छ।'

त्यसको केही दिनसम्म हाम्रो सम्पर्क भएन। त्रिभुवनलाई पुरै निगरानीमा राखिएकाले सम्पर्क गर्न गाह्रो पनि थियो। हामीले योजना बनायौं, कमलपोखरीमै बस्ने 'बलदेव' नाम गरेका हजामलाई फकाउने। ऊ त्रिभुवनको दाह्री र कपाल काट्न दरबार जान्थ्यो। हामीले ऊसँग कुरा गर्‍यौं। सुरुमा त खुबै डरायो। धेरै दिनको प्रयासपछि बल्ल हाम्रो सुराकी बन्न राजी भयो।

एकदिन त्रिभुवनले सन्देश पठाए, 'राति दरबारको पछाडि बाँसको ‰याङमा भेट्नू।'

त्यही रात म र विज्ञानदेव दरबारको ठूलो पर्खाल नाघेर त्रिभुवनलाई भेट्न गयौं। त्यतिबेला त्रिभुवनसँगै वसुन्धरा र हिमालय थिए। तत्कालीन युवराज महेन्द्रलाई नदेखेपछि हाम्रो मनमा कौतुहल जाग्यो। सोध्यौं, 'सरकार, युवराजसँग त भेट्न पाइएन नि!'

त्रिभुवनले भने, 'पछि थाहा पाउलाऊ। हामी छँदैछौं।'

त्यसको अर्थ खोज्न लामो समय कुर्नैपरेन। २०११ सालमा त्रिभुवनको निधन भएपछि थाहा पाइयो, महेन्द्र कति हदसम्म महŒवाकांक्षी रहेछन्। खासमा त्रिभुवनलाई नै फिटिक्कै विश्वास रहेनछ, महेन्द्रमाथि। स्वास्नीमार्फत् राणाहरूकोमा कुरा पुर्‍याउँछ भन्ने लागेको रहेछ, उनलाई।

त्यही भेटमा त्रिभुवनले सुवर्ण र बिपीलाई एकजुट भएर काम गर्न सल्लाह दिएका थिए। उनले आफ्नो मनसाय यसरी प्रकट गरे, 'भनिदेऊ दुवैलाई, एकहातले ताली बज्दैन, ताली बज्न दुई हात चाहिन्छ।'

राजा त्रिभुवनको यो सन्देश हामीले नै भारत पठायौं। केही समयमै सूवर्ण र बिपी मिलेर नेपाली कांग्रेस स्थापना गरेको खबर आयो।

त्यसपछि हामीले बिपी र त्रिभुवनको बिचौलिया भएर काम गर्न थाल्यौं।

...





२००७ सालपछि बिपीहरू नेपाल फर्किनुभयो।

उहाँहरूलाई गौशालाको गोश्वारा हवाई अड्डा (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा स्वागत गर्नेहरूको यति ठूलो भीड थियो, यस्तो लाग्थ्यो, काठमाडौंका पुरै जनता उर्लिएका छन्। खुट्टा टेक्ने ठाउँधरी थिएन, विमानस्थलमा।



नयाँ दिल्लीमा राणा, राजा र कांग्रेसबीच भएको सम्झौताअनुसार मोहनशमशेरकै नेतृत्वमा अन्तरिम सरकार गठन भयो। बिपी गृहमन्त्री हुनुहुन्थ्यो। उहाँ त्रिपुरेश्वर गेस्ट हाउसमा बस्नुहुन्थ्यो। आफ्नो सत्ता गुमेको चोटमा राणाहरूले बिपीलाई मार्ने षड्यन्त्र गरे। त्यतिबेला भरतशमशेर राणाको सक्रियतामा खुकुरी दल (गोरखा) स्थापना भएको थियो। खुकुरी दलका थुप्रै कार्यकर्ता हातमा खुकुरी बोकेर बिपीलाई मार्न गेस्ट हाउस पुगे। भीड देखेर गणेशमानजीहरू अत्तालिनुभएछ।



बिपी बसेको कोठामा छिरेर एकजना आर्मीका पूर्वसुवेदारले खुकुरी हान्न के लागेका थिए, बिपी आफैंले पेस्तोल झिकेर गोली चलाउनुभयो। सुवेदार त्यहीँ ढल्यो। भरतशमशेरसहित अरू धेरै पक्राउ परे।

तर, केही दिनपछि नै भरतशमशेर जेलबाट निस्किए। उनी मुक्त हुँदा जयजयकार गर्नेको भीड देखियो। मलाई भने यो चित्त बुझेन। आफ्नो नेतालाई मार्न जाने व्यक्तिलाई बिनाकारबाही बाहिर निकाल्ने घटनाले निकै रिस उठ्यो।

एकदिन राजा त्रिभुवनले भेट्न बोलाएका थिए। त्यहीँ आफ्नो रिस पोखिहालेँ, 'सरकार, तपाईंविरुद्ध नाराजुलुस गर्ने, बिपीलाई मार्न खोज्ने मान्छेलाई छाडेर राम्रो भएन।'

त्यतिबेला म बढी नै विचलित भएछु। मेरो आवाज चर्को थियो।

त्रिभुवन मसँग बम्किए, 'मलाई के थाहा। भरतशमशेर थुनामुक्त भएको खबर मैले उनी बागमती (पुल) आइपुगेपछि मात्र थाहा पाएँ। तिम्रो नेता (बिपी) ले प्रधानमन्त्री हुन नपाएको रिस ममाथि पोख्ने?'

यो सुनेपछि म त अलमल्ल परेँ।

...



कांग्रेसलाई दरबारबाट दुःख दिने काम भएपछि ऋषिकेश शाह र मथुरालाल बिपीकहाँ पुगे। बिपीसँग मेरो राम्रो सम्बन्ध भएकाले मलाई पनि आफूसँगै 'डेलिगेसन' मा लगेका थिए।

यो २०३३ सालमा बिपी मेलमिलापको नीति लिएर काठमाडौं फर्किएपछिको कुरा हो।

ऋषिकेशले प्रस्ताव राखे, 'बिपीबाबु यसरी भएन। दरबारले कहिल्यै प्रजातन्त्र दिँदैन। त्यसैले कम्युनिस्टसँग मिलेर जाऔं।'

यो सुन्नेबित्तिकै बिपीले मलाई टुलुटुलु हेर्नुभयो। सायद उहाँलाई ममा विचलन आयो भन्ने लाग्यो होला। उहाँले सबैलाई स्पष्ट पार्नुभयो, 'कम्युनिस्टसँग म हात मिलाउँदिनँ। चाहे नेपालमा प्रजातन्त्र स्थापना गर्न मलाई १० वर्ष लागोस् कि २० वर्ष।'

No comments:

Post a Comment

व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई

नेपाली काँग्रेस का महान व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई ( खगेन्द्र नेपाली द्वारा प्रकाशित पुस्तक ) मैले धरै पुस्तक पसल मा खोज्दा पाउन अति मुस्किल भएको कारण ले पक्कै नै स्रोता बृन्द माझ पुगेको नहुन सक्छ भन्ने मलाई सोच लाग्यो र मैले यो अडियो पुस्तक लाई तपाई हरु माझ पुर्याउने कोशिस गरेको हु . जगन्नाथ डाँडा कटेरी ( नेपाली काँग्रेस ) स्पेन नेपाल : भरतपुर ६ चितवन