Click to get cool Animations for your MySpace profile

Sunday, September 12, 2010

बिपी र मातृका

केशवमणि दीक्षित-


मातृका प्रधानमन्त्री हुँदा बिपीको ठूलो भाषण थियो, टुँडिखेलमा। त्यहाँ बिपीमाथि आक्रमण भयो। मञ्चमा बसेकी सुशिला (बिपीकी श्रीमती) माथि अभद्र व्यवहार भयो। त्यसपछि दाजुभाइको झगडा बाहिरै छताछुल्ल भयो






एकपल्ट चन्द्रशमशेरले मेरो पिताजी राममणि दीक्षितलाई भने, 'यो काम कृष्णप्रसाद (बिपीका बाबु) को होइन। उनको नाम त्यसै पोलियो। यो काम युगमायाको हो।'

त्यतिबेला मेरो पिताजी चन्द्रशमशेरकै जागिरे थिए।

चन्द्रशमशेरलाई 'हेर तिम्रो जनताको हालत' भनेर फाटेको चोलो र थोत्रो धोती पठाउने काम सरदार कालिदासकी श्रीमती युगमायाले गरेकी थिइन्। युगमाया कृष्णप्रसादकी भाउजु हुन्। जुद्धशमशेरकै पालामा उनको अगुवाइमा महिला संगठन खुलिसकेको थियो। चेतनाको हिसाबले निकै तीक्ष्ण।

कृष्णप्रसाद व्यापारी मान्छे थिए, विराटनगरको ठेक्का लिएको। पछि मौजा बुझाउन सकेनन्। सबै सम्पत्ति रोक्का भयो। त्यसपछि उनी भारत लागे। त्यहाँ अंग्रेजविरुद्ध आन्दोलनको तयारी भइरहेको थियो। त्यहीँ उनको भेट थुप्रै भारतीय नेताहरूसँग भयो। नयाँ विचार मन्थन गर्ने अवसर जुर्‍यो। राजनीतिक चेतनाको प्रादुर्भाव हुन थाल्यो।

...





बिपीसँग हाम्रो अर्को सम्बन्ध छ। मेरा पिताजी बिपीका मामा। उनकी दिदीसँग पिताजीको विवाह भएको थियो। घरमा निकै आवतजावत हुन्थ्यो।

२००७ सालअघि बिपीलाई भेटेको मलाई याद छैन। मातृकाबाबु (मातृकाप्रसाद कोइराला) सँग भने पहिल्यैदेखि भेटघाट हुन्थ्यो। उनी मेरो ब्रतबन्धमा पनि आएका थिए।

मातृका कर्मचारी थिए, राणाकालमै। मातृका र बिपीकी आमा फरक हुन्। पारिवारिक मनमुटाव पहिल्यैदेखि थियो। मातृका प्रधानमन्त्री हुँदा बिपीको ठूलो भाषण थियो, टुँडिखेलमा। म पनि भाषण सुन्न गएको थिएँ। तर, गुन्डागर्दीको शैलीमा बिपीमाथि आक्रमण भयो। मञ्चमा बसेकी सुशिला (बिपीकी श्रीमती) माथि अभद्र व्यवहार भयो।

त्यसपछि यी दुई दाजुभाइको झगडा घरमा सीमित रहेन। बाहिरै छताछुल्ल भयो।

...





बिपी र मातृकाको स्वभावमा आकाशपातालको अन्तर छ। मातृका कूटनीतिक स्वभावका थिए। त्रिभुवनको पनि अत्यन्त प्यारो। उनले पैसा पनि राम्रै कमाए। जहिल्यै राम्रो पदमा रहेर काम गरे। दरबारले खुसी भएर उनलाई जर्नेल पदै दिएको थियो।

त्यसको ठिक उल्टो, बिपी दूरदर्शी र स्पष्ट राजनीति सोच भएका शुद्ध नेता थिए। कुरा केही नलुकाउने। आफ्नो अडानमा चट्टानजस्तै मजबुत। मेरो विचारमा यी दाजुभाइ मिलेर काम गरेको भए नेपालको उन्नति हुने थियो।

बिपी धेरै भारतमा बसे। त्यही भएर यहाँको प्रशासनिक वातावरणसँग त्यति घुलमिल थिएनन्। तर, मातृकाले सबै बुझेका थए। उनीसँग प्रशासनमा काम गरेको अनुभव पनि थियो।

...





बिपीलाई सत्तामा नपुर्‍याउन भारत, र त्यसमा पनि नेहरूले गोटी चाले। त्यसमा पनि मातृकाबाबुलाई नै प्रयोग गरियो।

मोहनशमशेरपछि मातृका प्रधानमन्त्री भए। त्यतिबेला भारतको नांगो हस्तक्षेप देखियो। नेपालीहरूले मातृका प्रधानमन्त्री भएको खबरै भारतीय रेडियोबाट पाए। २००९ सालमा राजा त्रिभुवन मोहनशमशेरको वर्तमान मन्त्रिमण्डल भंग गर्न र ७ सदस्यीय मन्त्रिमण्डल गठन गर्न नयाँ दिल्ली पुगेका थिए, नेहरूसँग परामर्शका लागि।

बिपीविरुद्ध त्यतिबेला चारवटा प्रधानमन्त्रीको प्रयोग भयो। केही नलागेपछि २०१५ सालमा निर्वाचन गर्नेपर्ने बाध्यता आयो। बिपीको समयमा देशलाई असर पर्ने कुनै सन्धि सम्झौता भएन।

...





प्रधानमन्त्री भएपछि पनि बिपी हाम्रो गैह्रीधारास्थित शान्ति निकेतनमा आइरहन्थे। उनमा एउटा विशेषता थियो, विपक्षीप्रति कहिल्यै उग्र नहुने। राणा शासन ढालेपछि पनि उनले कुनै सभा-समारोहमा राणाको विरोध गरेनन्।

गणेशमानजीप्रति उहाँमा ठूलो लगाव। नारायणचौरमा बस्दा उनको बैठक कोठामा गणेशमानजीको फोटो थियो। उनी सार्वजनिक रूपमा कसैको विरोध गर्नुपरे गणेशमानजीबाट गर्न लगाउँथे।

बिपी र मातृकाबीच एकपल्ट हाम्रो घरमा रमाइलो कुरा भएको छ। त्यतिबेला मातृका प्रधानमन्त्री थिए। भाइटिका थियो। बिपी मेरी आमाबाट टिका लगाउन अगाडि आए। प्रधानमन्त्री भएका कारण मातृका अलि व्यस्त थिए। मेरो पिताजीको खाना खाँदा धोती फेर्ने बानी थियो। बिपीले धोती नफेरी खाए। कुरा उठ्यो। बिपीले भने, 'म त यस्तै हो। कहाँ कहाँ पुग्नुपर्छ। साध्य छैन।'

र, उनले मातृकाबाबुको कुरा उप्काउँदै भने, 'भिनाजु (मेरो पिताजी) नअत्तालिनुस्। दाजु धोती बोकेर आउनुहुन्छ।'

नभन्दै मातृकाबाबु कागजमा बेरिएको धोती हातमा च्याप्दै गाडीबाट उत्रिए। घरमा हाँसोको माहोल बन्यो। बिपी पनि आफ्नो कुरा पुगेकोमा मुसुमुसु हाँसे।

मातृकाबाबु धोती फेरेर खाना खानेबेला बिपीले ठट्टा गरे, 'बाहिर जाँदा दाजु (मातृका) यसरी नै खानु हुन्छ?'

...





बिपीको मन जति सफा थियो, त्यस्तै अरूलाई पनि देख्थे।

मेरो जेठो छोराको पास्नीमा बिपीलगायत कांग्रेसका त्यतिबेलाका सबै हस्ती आएका थिए। पिताजीलाई थाहा थियो, घरमा राणाविरोधी कुराबाहेक केही हुँदैन।

हाम्रो घरमा चन्द्रशमशेरको ठूलो पोट्रेट फोटो थियो। पिताजीले फोटोको पाखुरामा लेखिदिनुभयो, 'मेरो भाग्य विधाता ईश्वर।'

बिपीहरू घर आए। उनले सबैलाई तान्दै आफैंले त्यो पोट्रेट देखाए। अरूले त त्यसको अर्थ बुझेनन्। तर, बिपीले पत्तो पाए। त्यसपछि राणाविरोधी उग्र कुरा निस्किएन।

बिपीको अर्को गजबको स्वभाव थियो। उनी प्रवासमा भए पनि यहाँ कोही बिरामी परे सन्चो-बिसन्चो बु‰न मान्छे पठाउने।

मेरो पिताजी बिरामी पर्दा मंगलादेवीलाई बु‰न पठाएका थिए।



(नवीन अर्यालले गरेको कुराकानीमा आधारित)

No comments:

Post a Comment

व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई

नेपाली काँग्रेस का महान व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई ( खगेन्द्र नेपाली द्वारा प्रकाशित पुस्तक ) मैले धरै पुस्तक पसल मा खोज्दा पाउन अति मुस्किल भएको कारण ले पक्कै नै स्रोता बृन्द माझ पुगेको नहुन सक्छ भन्ने मलाई सोच लाग्यो र मैले यो अडियो पुस्तक लाई तपाई हरु माझ पुर्याउने कोशिस गरेको हु . जगन्नाथ डाँडा कटेरी ( नेपाली काँग्रेस ) स्पेन नेपाल : भरतपुर ६ चितवन