Click to get cool Animations for your MySpace profile

Tuesday, September 14, 2010

महेन्द्र बिपीलाई फर्काउन चाहन्थे

कीर्तिनिधि बिष्ट-
महेन्द्रलाई पछिल्लो समय बिपीलाई राष्ट्रिय राजनीतिमा जोड्न नसकेकोमा ठूलो पछुतो थियो। निधन हुनु सात दिनअघि उनले संविधानका केही धारा फेरबदल गरेर बिपीलाई राष्ट्रिय राजनीतिमा फर्काउने चाहना व्यक्त गरेका थिए।
 आफैंले 'कू' गरेर सत्ताच्युत गरेका प्रधानमन्त्रीलाई आफैंले राष्ट्रिय राजनीतिमा समावेश गराउने उनको ध्येय इतिहासको गर्भमा त्यसै हरायो।
वीरेन्द्रको सबभन्दा ठूलो भुल यही हो। उनले बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्किनेबित्तिकै बुबा (महेन्द्र) ले मर्नुभन्दा अगाडि गर्न खोजेको काम पुरा गर्नुपर्थो

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बिपीसित मेरो हिमचिम बढ्यो। जनमत संग्रहपछि त हाम्रो सम्बन्ध राजनीतिमा मात्र सीमित रहेन, पारिवारिकै बन्न पुग्यो।

बिपी अक्सर मकहाँ आइरहन्थे। उनी आएपछि घरको माहोलै बेग्लै हुन्थ्यो। हामी राजनीतिक छलफल गर्थ्यौं, पारिवारिक कुरा हुन्थे। एकदिन बिपीले मसँग जिज्ञासा राखे, 'महेन्द्रले 'कू' गर्नुको कारण के थियो?'
महेन्द्रकै कार्यकालमा २०२६ सालमा प्रधानमन्त्री भएकोले उनलाई लागेको हुनसक्छ, राजाले मलाई धेरै कुरा बताएका छन्। तर, २०१७ सालमा म भर्खर राजनीतिमा संघर्ष गरिरहेको थिएँ।
मैले जवाफ दिएँ, 'मलाई के सोध्नुहुन्छ। तपाईंकै प्रिय मान्छे विश्वबन्धु र तुलसीलाई सोध्नू न।'
त्यसपछि उनले कहिल्यै यो कुरा उप्काएनन्।
जनमत संग्रहताकै बिपीले मलाई प्रस्ताव राखे, 'तपाईं पनि राष्ट्रवादी सोचको मान्छे। किन हामी एकै ठाउँ मिलेर काम नगर्ने?'
मैले बिपीलाई आफू लामो समयदेखि पञ्चायतमा सक्रिय रहेको सम्झाउँदै भनेँ, 'तपाईंको कुरा ठिक हो। तर, म अहिले राजासँग लागेको छु। अहिले छाडेँ भने घात हुँदैन। धोका दिएजस्तो हुँदैन।'
बिपीले फेरि दोहोर्‍याएर त्यो कुरा झिकेनन्।
त्यही समयतिर स्याङ्जामा बिपीलाई झन्डै मारेको। त्यतिबेला बहुदल र निर्दलबीच ठूलो कटुता थियो। जसले पायो, त्यसले सिध्याउने। म पनि पञ्चायततिरबाट सक्रिय थिएँ। गोरखामा भाषण गर्न गएको, कांग्रेस समर्थकले झन्डै मारे। रातभरि पुलिस एस्कर्टिङमा बस्नुपर्‍यो। दमौलीमा त्यस्तै।
बिपीले यो खबर पाएछन्।
उनले आफ्ना कार्यकर्तालाई बोलाएर हकारे, 'के गरेको यस्तो? कीर्तिनिधिजीको विरोध किन गरेको? उनी पञ्चायतमा छन् भन्दैमा आफ्नो विचार राख्न नपाउने?'
सच्चा प्रजातन्त्रवादी हुन् बिपी, जो सबैको विचारलाई उत्तिकै कदर गर्थे।
...

बिपी सानो-सानो कुरा पनि हेक्का राख्थे। जनतामा जान भनेपछि भित्रैदेखि रमाउँथे। प्रजातन्त्र र प्रजातान्त्रिक चरित्रमा चट्टानजस्तै अडिग। कसैप्रति उनको रोष थिएन। न कसैप्रति दुर्भावै राख्थे। प्रजातान्त्रिक आस्थामा विश्वास गर्ने र राष्ट्रवादीलाई एकजुट बनाएर लानुपर्छ भन्ने उनको सोच थियो। जीवनभर दरबारबाट प्रताडित भए। तर, उनले आवेशमा आएर राजसंस्थाको कहिल्यै विरोध गरेनन्। मान्छे खराब हुन सक्ला, तर संस्था खराब हुँदैन भन्ने उनको मान्यता थियो। यहाँसम्म कि, महेन्द्रले उनीमाथि त्यत्रो अन्याय गरे, तैपनि महेन्द्रप्रति कहिल्यै तुष राखेनन्।
एउटा महान् नेतामा हुनुपर्ने गुण यही हो- व्यक्तिलाई भन्दा राज्यलाई प्राथमिकता दिने।
अहिले सम्झन्छु, आखिर किन महेन्द्रले आफूले त्यतिविधि मानेका नेतालाई पद्च्युत गरे? किनकि, मैले देख्दा, महेन्द्र पनि बिपीप्रति कुनै पूर्वाग्रह राख्थेनन्। बिपीको कुरा हुँदा उनको भावै अर्को हुन्थ्यो। भन्थे, 'पिएम (प्रधानमन्त्री) हुनलायक मान्छे त बिपी नै हो।'
महेन्द्रलाई पछिल्लो समय बिपीलाई राष्ट्रिय राजनीतिमा जोड्न नसकेकोमा ठूलो पछुतो थियो। एकदिन उनले हामीलाई (त्यतिबेला म प्रधानमन्त्री थिएँ) बोलाए। र, संविधानका केही धारा फेरबदल गरेर बिपीलाई राष्ट्रिय राजनीतिमा फर्काउने मनसाय व्यक्त गरे।
त्यसको सात दिनमै महेन्द्रको निधन भयो। आफैंले 'कू' गरेर सत्ताच्युत गरेका प्रधानमन्त्रीलाई आफैंले राष्ट्रिय राजनीतिमा समावेश गराउने उनको ध्येय इतिहासको गर्भमा त्यसै हरायो।
...

बिपी २०३३ सालमा 'राजाको घाटी मसँग जोडिएको छ' भन्दै फर्किएका हुन्। तर, उनको मेलमिलापको नीतिभित्र लुकेको मनसाय दरबारले बु‰न सकेन। त्यसैको परिणाम हो - अहिले देशमा राजसंस्था छैन।
बिपीले त्यत्रो खतरा मोलेर देश फर्किएपछि त्यसभित्र के अर्थ लुकेको छ भन्ने दरबारले बु‰न सक्नुपर्थ्यो। बु‰ने कोसिस गर्नुपर्थ्यो। तर, खराब सल्लाहकारहरूका पछाडि लागेर फेरि बिपीलाई राष्ट्रिय राजनीतिबाट अलग राख्ने काम भयो।
वीरेन्द्रको सबभन्दा ठूलो भुल यही हो। उनले बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्किनेबित्तिकै बुबा (महेन्द्र) ले मर्नुभन्दा अगाडि गर्न खोजेको काम पुरा गर्नुपर्थो।
...

जनमत संग्रहताक बिपी दिनहुँजसो मेरो घर आउँथे। एकपल्ट नास्ता खाइरहँदा सोधे, 'कीर्तिनिधिजी, जनमत संग्रहमा हामी जित्छौं हैन?'
मैले फ्याट्ट जवाफ दिएँ, 'जित्नुहुन्न। तपाईंहरूको संगठन कमजोर छ। फेरि अलिकति चलखेल त भइहाल्छ।'
बिपी हाँसे।
'तपाईंले गल्ती भन्नुभयो। चुनाव त हामी नै जित्छौं,' कोठामा सँगै बसेका मेरा छोराछोरीतिर देखाउँदै भने, 'सोध्नुस् त तपाईंका छोराछोरीलाई, उनीहरू पनि हामीलाई नै भोट हाल्छन्।'
एकचोटि मृगेन्द्रशमशेरका छोराले खाना खाने निम्तो दिएका थिए। बिपीसँगै किसुनजी र गणेशमान पनि आएका थिए। मैले त्यहाँ पनि भनेँ, 'कांग्रेसले जित्दैन।'
त्यतिबेला गणेशमानलगायत सबैले मेरो मजाक उडाए। आखिर चुनावमा त्यही भयो।
गणेशमानले विरोध गर्नुपर्छ भने। तर, बिपीको तर्क थियो, 'हामीले जनमतको अपमान गर्नुहुन्न।'
बिपीलाई थाहा थियो, चुनावमा धाँधली भएको छ। तर, उनी प्रजातान्त्रिक अभ्यास सुरु हुन लागेकोमा खुसी थिए।
...

बिपी मलाई खुब आदर गर्थे। मलाई भने उनको व्यवहारले लाज लाग्थ्यो। भन्थेँ, 'बिपीबाबु, तपाईं मैले मानेको नेता। मेरो अग्रज पनि। त्यसैले, मलाई धेरै माथि चढाएर सम्मान नगर्नुस्।'
बिपीले मलाई धेरै आदर गरेको अरूलाई पनि मन परेको रहेनछ। एकदिन घरमा सबै भएका बेला गणेशमानजीले कुरा झिके, 'के हो बिष्टजी, तपाईंले त हाम्रो नेतालाई मोहनी लाउनुभएजस्तो छ नि! तर, बिष्टजी, म यो मान्दिनँ। तपाईंहरूले कति दुःख दिनुभयो हामीलाई।'
म बिपीलाई जोगी भन्थेँ। इमानदार नेता। राज्यले पनि उनलाई चिन्न सकेन। प्रधानमन्त्री भइसकेको मान्छेलाई राज्यले एउटा सुविधा पनि दिएन। उनीसँग मोटर थिएन। एकपल्ट प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम थियो। त्यहाँ राजा वीरेन्द्र र म थियौं। बिपीलाई पनि निम्तो गरिएको रहेछ।
फर्किने बेला सबै गाडीमा गइहाले। बिपी त्यतिबेला चाबहिलमा भाइ तारिणीसँग बस्थे। उनले मनजिक आएर भने, 'कीर्तिनिधिजी, म तपाईंको मोटरमा जान्छु।'
मैले श्रीमतीलाई पछाडि बसाएर बिपीलाई अगाडि सिटमा राखेर घर छोडिदिएँ। पछि पुरै हल्लाखल्ला भएछ। कुरा दरबारसम्म पुगेछ - 'कीर्तिनिधि त बिपीसँग मिल्यो। एउटै गाडीमा हिँड्छ।'
...

यो २०१५ सालको कुरा हो। बिपी प्रधानमन्त्री थिए। म कांग्रेसको विरोधी पार्टीका रूपमा डिल्लीरमण रेग्मीले स्थापना गरेको नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध थिएँ। हामी २ पैसामा बिक्री हुने पत्रिका निकाल्दै कांग्रेसको विरोध गर्थ्यौं। राष्ट्रिय कांग्रेस पनि प्रजातन्त्रमै आस्था राख्ने पार्टी हो। तर, केही कुरामा कांग्रेससँग हाम्रो 'रिजर्भेसन' थियो। हामी आफूलाई मन नपरेको कांग्रेसको नीति-नियमबारे पत्रिकामा छाप्थ्यौं।
एकदिन विशालनगरतिर हिँड्दै थिएँ। बिपी गाडीमा आए। मलाई देखेछन्। गाडी रोकेर सोधे, 'कीर्तिनिधिजी, कता जान लागेको?'
त्यतिबेला काठमाडौंका प्रायः मान्छेको 'जंक्सन' न्युरोड हुन्थ्यो। मैले पनि त्यहीँ जान लागेको बताएँ। बिपीले मलाई आफ्नो गाडीमा हालेर न्युरोड गेटभन्दा अगाडिको महांकाल मन्दिरनिर छोडिदिए।
म बिपीप्रति अनुग्रहित भएँ। त्यतिबेला राष्ट्रिय कंग्रेसको जग त्यति बलियो थिएन। त्यही पनि बिपीले २०१५ सालको निर्वाचनमा सँगै मिलेर लड्न आग्रह गरेका थिए। बिपीलाई सुरुमा आफ्नो त्यति धेरै मत आउँछ भन्ने लागेको रहेनछ।
त्यो निर्वाचनमा हामीले १ भोट पनि ल्याएनौं।
...

२०३९ सालतिर उपचारका लागि विदेश लैजानुअघि म बिपीलाई भेट्न चाबहिल पुगेको थिएँ।
पावरवाला चस्माबाट पुलुक्क मतिर हेर्दै उनले भने, 'को, कीर्तिनिधिजी? म आउँछु भन्दै थिएँ।'
त्यसपछि न उनी मेरो घर आए। न उनीसँग मेरो भेट भयो।
(नवीन अर्यालले गरेको वार्तामा आधारित)

No comments:

Post a Comment

व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई

नेपाली काँग्रेस का महान व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई ( खगेन्द्र नेपाली द्वारा प्रकाशित पुस्तक ) मैले धरै पुस्तक पसल मा खोज्दा पाउन अति मुस्किल भएको कारण ले पक्कै नै स्रोता बृन्द माझ पुगेको नहुन सक्छ भन्ने मलाई सोच लाग्यो र मैले यो अडियो पुस्तक लाई तपाई हरु माझ पुर्याउने कोशिस गरेको हु . जगन्नाथ डाँडा कटेरी ( नेपाली काँग्रेस ) स्पेन नेपाल : भरतपुर ६ चितवन