Click to get cool Animations for your MySpace profile

Tuesday, September 14, 2010

भारतको आइडी लिएर युरोप

भीमबहादुर तामाङ-
बिपी निर्वासनमै भएका बेला राजा महेन्द्रको निधन भयो।
उहाँले महेन्द्रको निधनपछि मुलुकलाई नयाँ दिशातर्फ 'एक्सप्लोर' गर्न सकिने अवधारणा राख्नुभयो। भारतीय पत्रपत्रिकामा त्यो अवधारणा छापिएका छन्। बिपीको प्रतिक्रियाले आफैंमा ठूलो अर्थ राख्थ्यो, त्यो बेला।


उहाँले त्यसपछि अन्तर्राष्ट्रिय भ्रमणको कार्यक्रम बनाउनुभयो। त्यो एउटा अभियान थियो, प्रजातन्त्रका पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने। विदेश भ्रमणका लागि बिपीले नेपाल सरकारसँग राहदानी उपलब्ध गराउन माग गर्नुभयो। तर, पञ्चायतले दिएन।
नेपाल सरकारको अस्वीकृतिपछि भारतले उपलब्ध गराएको 'आइडेन्टिटी पेपर' लिएर उहाँ अमेरिका र युरोपका धेरै देश जानुभयो। भ्रमणताका विभिन्न देशका पत्रपत्रिकाले बिपीको अन्तर्वार्ता छापेका छन्। उहाँ राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिक गतिविधि गहन रूपमा केलाउने गर्नुहुन्थ्यो। निर्वासनमा रहेकै बेला यस क्षेत्रमा ठुल्ठुला राजनीतिक गतिविधि भए। सिक्किमको आन्दोलन चर्कियो। सन् १९७१ मा भारत र पाकिस्तान युद्ध भयो। आन्दोलनकै परिणामले बंगलादेश जन्मियो। बंगलादेशमा मुजिवर रहमान राष्ट्रपति बने। यी सब घटनाको गहन विश्लेषण गर्नुहुन्थ्यो, बिपी।
बंगलादेशको जन्मपछि तरूण पत्रिकामा एउटा सम्पादकीय लेख्नुभएको छ, उहाँले। त्यसमा नयाँ देश उदय भएको कुरा थिएन। तर, एउटा तानाशाही व्यवस्थाले मुलुकलाई सार्वभौम र अक्षुण राख्न सक्दैन भन्नेखाले अभिव्यक्ति थियो। सिक्किम भारतमा 'एनेक्स' भएको कुराप्रति बिपी आलोचक हुनुहुन्थ्यो। लेन्डुप दोर्जे र उनकी पत्नीले सिक्किम आन्दोलन चलाएका थिए। त्यसमा आरसी पौडेल पनि थिए। उनीहरू बिपीलाई भेट्न आइरहन्थे। उहाँ सिक्किम आन्दोलनको पक्षमा हुनुहुन्थ्यो।
...

बिपी छुट्नुअघि कांग्रेसले 'विधानसभा चुनाव' को मुद्दा अघि सार्‍यो, जबकि लामो समयदेखि पार्टीको मुख्य माग 'संसद् पुनर्स्थापना' थियो।
बिपी छुट्ने वातावरण बनाउन त्यस्तो गरिएको थियो भनेर म भन्दिनँ।
उहाँले ८ वर्षे जेलजीवनबाट छुटेपछि विराटनगरको एलिट क्लब र जलजला सिनेमा हलमा दिएको भाषणलाई नै निर्वासनको कारण मान्नेहरू धेरै छन्। त्यो भाषणको अभिलेख पाइँदैन। तर, भाषणपछि नेपालमा एउटा यस्तो माहोल बन्यो, जसले उहाँ निर्वासनमा नगई नहुने अवस्था आयो।
जेलमुक्त हुनुअघि गिरिजाबाबु, बिपी र राजाबीचको एउटा रोचक पक्ष छ, जसले गहिरो अर्थ राख्छ त्यसबेलाको राजनीतिमा। त्यो पक्ष उद्घाटन गर्न आवश्यक छ। अहिले बिपी हुनुहुन्न, गिरिजाबाबु पनि हुनुहुन्न। त्यसबेला बिपी जेलबाट छुट्ने र निर्वासनमा जानुपर्ने राजनीतिक अवस्थाका पछाडि ठुल्ठुला चलचेख भएका छन्।
राजाले गिरिजाबाबुमार्फत् बिपीसँग राजनीतिक संवाद सुरु गरेका थिए। गिरिजाबाबुको सर्त थियो, बिपी जसरी भए पनि छुट्नुपर्छ। उहाँले त्यसैका लागि लबिङ गर्नुभयो। त्यही क्रममा हामी प्रवासमा बसेको ठाउँ दरभंगा पनि आउनुभयो। गिरिजाबाबुको अभियानले एउटा माहोल तयार गर्‍यो। मलाई लाग्छ, लबिङ सुरु भइसकेपछि गिरिजाबाबु र तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाबीच भेट हुन थाल्यो। सूर्यबहादुरसँग भेट्दा गिरिजाबाबुलाई लागेछ, प्रधानमन्त्री पनि राजाकै मानिस हुन्, उनलाई राजासँगको कुराकानी सुनाउँदा फरक पर्दैन। अनौठो कुरा छ, यसभित्र। अनुमानमात्र गर्न सकिन्छ, किटान गर्न सकिन्न। गिरिजाबाबु संवाहक हुनुहुन्थ्यो। पछि आएर हठात् 'हाम्रो संवाद टंुंगियो' भनेर राजाले भनेछन्।
राजाको त्यस्तो कुरा लिएर गिरिजाबाबु बिपीकहाँ पुग्नुभयो।
'तिमीले अरू कसलाई भनेका थियौ यो कुरा?' बिपीले सोध्नुभयो।
'प्रधानमन्त्रीलाई भनेको थिएँ।'
'त्यही भएर त संवाद टुंगियो।'
त्यहीबेला सूर्यप्रसाद उपाध्याय (सूर्यबाबु) सलबलाउन थाले। राजबहादुर सिंह भारतीय राजदूत थिए। हामी त्यतिबेलाको एउटा घटना अनुमान गर्न सक्छांै। अनुमान यस अर्थमा, यसलाई तथ्यपरक वास्तविकतामा कसैले ल्याउन सकको छैन।
सुवर्णजी लखनऊ जानुभएको थियो। राजबहादुर पनि लखनऊमै उपचार गर्न भनेर गए। उनी इन्दिरा गान्धीका विश्वासपात्र थिए। गोरखामा घोडाबाट लडेर घाइते भएका छन् भनिएको थियो। यो पाटो इतिहासको गर्भमै छ। राजबहादुर र सुवर्ण दुवै लखनऊ जानुको पछाडि हामीले कुनै तथ्य-तथ्यांक पाएका छैनौं। राजबहादुर उपचार गर्न दिल्ल्ाी नगएर लखनऊ जानु आफैंमा अनौठो कुरा हो। त्यसबेला दिल्ली पो उपचारको केन्द्र थियो।
राजबहादुर र सुवर्णको लखनऊ यात्रा सुरुमा त्यति चर्चाको विषय रहेन। तर, गिरिजाबाबुसँग संवाद हुँदा राजाले सूर्यबाबुसमेतको उपस्थितिमा सुवर्णको एउटा वक्तव्य देखाए। त्यसमा 'पञ्चायतमा अरू विकास हुने' आश्ाा राखिएको थियो। अरू कुनै सर्त थिएन। गिरिजाबाबुलाई राजाले त्यो वक्तव्य पढ्न दिएका थिए।
यसैबीच, बिपीको रिहाइ भयो। र, छोटो समयमै निर्वासनमा जानुपर्ने बाध्यता पनि आइलाग्यो।
यता नेपालको राजनीतिमा नयाँखाले चलखेल सुरु भए। २०२६ तिर सूर्यबहादुर प्रधानमन्त्रीबाट मात्र हटेनन्, जेलसमेत परे। थापाले द्वैध शासन चल्दैन भनेर भाषण गरेकाले पञ्चायतले कारबाही गरेको थियो। यी घटनाक्रम जोड्दा कहीँ न कहीँ तादात्म्य मिल्छ।
...
करिब ८ वर्ष भारत निर्वासनपछि बिपीले नेपाल फर्कने निधो गर्नुभयो। उहाँले शीतयुद्धको माहोलमा यस क्षेत्रमा आएको संकट आकलन गर्नुभएको थियो। बिपीको मेलमिलाप नीति त्यसबेलाको राजनीतिक निकास निकाल्ने एउटा माध्यम हो। जुन कारगरसिद्ध भयो। त्यतिखेर उहाँको नीतिले सबैलाई चकित पारेको थियो। मेलमिलाप नीतिको तेस्रो आयामबारे कसैले सोचका थिएनन्।
उहाँ 'नेपालको भविष्य छ भने हाम्रो पनि भविष्य छ' भन्ने गर्नुहुन्थ्यो। आफूहरू मारिए पनि नयाँ पिँढीले नेपालको राजनीतिक निकास दिन्छन् भन्ने सोच राख्नुहुन्थ्यो। तर, नेपाल आएपछि यहाँको राजनीतिमा राजाले मात्र भूमिका खेल्दा रहेनछन् भन्ने देखियो। बिपी बारम्बार 'डिएन आइडिट फर्मुला'बारे चर्चा गर्नुहुन्थ्यो। व्यक्तिगत प्रशंसा गरेर नजिक पुग्ने र उसलाई आफ्नो घेरामा राख्ने रणनीति आइडिटले अपनाएका थिए। उनको फर्मुला यही हो।
डिएन आइडिट इन्डोनेसिया कम्युनिस्ट पार्टीका महासचिव हुन्। सुकार्नोलाई प्रशंसाको जालमा पार्दै लगेपछि इन्डोनेसियाको राजनीतिमा कम्युनिस्टहरू प्रभावकारी हुँदै गए। उनीहरूको सत्तामा घुसपैठ सुरु भयो। डिएन आइडिट खुस्चेभ र माओत्सेतुङसँग अंकमाल गर्थे। उनको पार्टीमा ३३ लाख कार्डहोल्डर सदस्य थिए। तेस्रो विश्वको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी उनकै थियो। आइडिटको ३३ लाख कम्युनिस्ट फौजले एउटा भोज आयोजना गर्‍यो। उनको सत्ता कब्जा गर्ने योजना रहेछ। दरबारीया गार्डलाई पनि विश्वासमा लिइसकेका रहेछन्। तर, जर्नेलमध्येका सबभन्दा कनिष्ठ सुहार्तो त्यहाँबाट फुत्किए। उनले वायुसेना, जलसेना, थलसेना सबैको कमान सम्हाले। सुहार्तोको कारबाहीपछि कम्युनिस्टको योजना तुहियो। आइडिट कहाँ मारिए? के भयो? ३३ लाख कम्युनिस्ट लडाकुहरू त्यसपछि कता गए? अहिलेसम्म यी प्रश्न अनुत्तरित छन्। चीनले यो काण्डपछि इन्डोनेसियासँग कूटनीतिक सम्बन्धविच्छेद गर्‍यो।
नेपालमा कम्युनिस्टहरूको घुसपैठका सन्दर्भमा बिपी आइडिटको यही उदाहरण दिनुहुन्थ्यो। प्रजातन्त्र नभएपछि कम्युनिस्टहरूको भूमिका बढ्छ भन्ने उहाँको धारणा थियो। नेपालमा पनि कम्युनिस्टहरूले पञ्चायतको 'गाउँ फर्क' अभियानअन्तर्गत सबै तहमा घुसपैठ गर्न थालिसकेका थिए। बिपी नेपालमा संकट छ भन्ने मान्यता राख्नुहुन्थ्यो। त्यसबेलाका राजाबारे उहाँ बारम्बार भन्नुहुन्थ्यो, 'राजा, तिमी कहाँ जान्छौ? म त हलो जोत्न जानसक्छु। मेरो त के जान्छ र! तिम्रो त राजसंस्थै जानसक्छ।'
यही मान्यतामा बिपी नेपाल आउनुभएको हो, मेलमिलाको नीति लिएर। बिपी आएपछि राजनीति चलमलायो। यसैबीच धनकुटामा पञ्चभेला भयो। निस्त्रि्कय र पञ्चायतमा भूमिका नपाएका सूर्यबहादुर थापा, पेशलकुमार पोखरेलले 'बिपीलाई फाँसी दिनुपर्छ' भन्ने प्रस्ताव पास गराए। गाउँ पञ्चायतको वडासम्मबाट यो प्रस्ताव पास गराइएको छ।
यसैबीच कांग्रेसमा परशुनारायण चौधरी र भद्रकाली मिश्रले 'बिपी पार्टीमा छैनन्, पार्टीको मूलधार भनेको सुवर्ण हो' भन्ने कुरा ल्याए। त्यसैबेला हिन्दुस्तानको सत्ता परिवर्तन भयो। संकटकाल लाग्यो। इन्दिरा गान्धीले आफ्नो विश्वासपात्र जगजीवनराममार्फत् बिपीलाई भारतै बस्न अनुरोध गरेकी थिइन्। तर, उहाँले मान्नुभएन।
बिपी नेपाल आइसकेपछि यहाँ छिट्छिटो राजनीतिक परिवर्तन हुन थाल्यो। बिपीले भनेको आइडिट फर्मुलाजस्तै पञ्चायतमा अरूले कब्जा गरिसकेका रहेछन्। सबै कम्युनिस्ट गाउँ फर्कमा लागेका थिए। तर, बिपीको एउटै धारणा थियो- 'नेपालको भविष्य छ भने हाम्रो पनि भविष्य हुन्छ, हामीले देश फर्कनैपर्छ।'
(विश्वमणि पोखरेलले गरेको कुराकानीमा आधारित)

No comments:

Post a Comment

व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई

नेपाली काँग्रेस का महान व्यक्तित्व बि पी कोइरालाको आत्मा वृतान्त लाई ( खगेन्द्र नेपाली द्वारा प्रकाशित पुस्तक ) मैले धरै पुस्तक पसल मा खोज्दा पाउन अति मुस्किल भएको कारण ले पक्कै नै स्रोता बृन्द माझ पुगेको नहुन सक्छ भन्ने मलाई सोच लाग्यो र मैले यो अडियो पुस्तक लाई तपाई हरु माझ पुर्याउने कोशिस गरेको हु . जगन्नाथ डाँडा कटेरी ( नेपाली काँग्रेस ) स्पेन नेपाल : भरतपुर ६ चितवन